२०८२ भदौ ३० सोमबार
Jhapa Today
Adv top

झुम्काबाट भागेका अर्का एक कैदी झापामा पक्राउ


बिर्तामोड, भदौ ३० । जेनजीको तोडफोड र आगजनीका कारण झुम्का कारागारबाट भागेका अर्का एकजना कैदीलाई झापामा पक्राउ गरिएको छ ।

भदौ २४ गते झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी बलबहादुर राईलाई नियन्त्रणमा लिइएको हो । ४५ वर्षीय उनी झापा कनकाई नगरपालिका ४ का हुन् ।

राईलाई हिजो दिउँसो २ः२० बजे उनका छोरा कविन राईले जिल्ला प्रहरी कार्यालय झापामा ल्याई बुझाएका थिए । यसअघि झुम्का कारागारबाट भागेका चारजना कैदी झापामा पक्राउ परेका थिए ।

झुम्का कारागारबाट फरार भएका भोजपुर टेम्केमैयुङ गाउँपालिका ९ बस्ने ६१ वर्षीय जयबहादुर राई हिजो बिहान ११ः५५ बजे भोजपुर नगरपालिका ६ मा पक्राउ परेका छन् ।

यसैबीच, झुम्का कारागारबाट भागेर घर पुगेका एक कैदीले आफ्नै घाँटी रेटेर आत्महत्या गर्ने प्रयास गरेका छन् । झुम्का कारागारबाट भदौ २४ गते भागेका लागूऔषध मुद्दाका कैदी सुनसरी बराहक्षेत्र-७ धिमाल चोक बस्ने २८ वर्षीय ईश्वर थापाले गए राति ११ः३० बजे दाउले आफ्नै घरमा आफैले घाँटी रेटेका हुन् । घाइतेलाई उपचारको लागि आफन्तले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् ।

झुम्का कारागारबाट भागेका एक हजार ५ सय ७५ जना कैदी बन्दीमध्ये १ हजार २ सय ९७ जना अझै फरार रहेका छन् । केही कैदीहरु लुकेर बसेको र भारततिर भागेको आशंका गरिएको छ ।

Adv footer