२०८२ भदौ ३० सोमबार
Jhapa Today
Adv top

लुटपाट गरिएका सामग्री फिर्ता गर्न बिर्तामोड नगरपालिकाको आग्रह


बिर्तामोड, भदौ ३० । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

नगरपालिकाले आज सूचना जारी गर्दै भदौ २३ र २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा अवाञ्छित तत्वहरुले नगरपालिका र वडा कार्यालयबाट विभिन्न प्रकारका सामान लुटेको भन्दै इमान्दारीका साथ फिर्ता गर्न आग्रह गरेको हो ।

नगरपालिकाले तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि जनाएको छ ।

नगरपालिकाले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले आन्दोलनका क्रममा ठुलो जनधनको क्षति भएको बताउँदै दुःख व्यक्त गरिन् ।

आज नगर अस्पतालमा बसेको नगर कार्यपालिकाको बैठकमा उनले आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गरिन् ।

प्रहरी प्रशासन अभावका कारण तत्कालका लागि शान्ति सुरक्षाको जिम्मेवारी टोल विकास समितिहरूलाई समूह बनाएर गस्ती गर्नेगरी व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले आन्दोलनका कारण प्रभावित पठनपाठनलाई निरन्तरता दिन दसैँ र तिहारको बीचमा समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य प्रहरी चौकीहरू स्थापना गर्न आवश्यक सहजीकरण गर्ने निर्णय पनि कार्यपालिकाले गरेको छ ।

नगरपालिकाले भवनमा आगजनी हुँदा भौतिक संरचना र महत्वपूर्ण कागजात नष्ट भएकाले तत्काल सेवा सुरु गर्न नसकिने जनाएको छ । नगरले वडा कार्यालयसहितको क्षतिको विवरण संकलन कार्य भइरहेको जनाएको छ ।

भोलिदेखि नगरपालिका कार्यालयमा सरसफाइ कार्य सुरु गर्ने नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बु, सशस्त्र प्रहरीका एसपी तुलबहादुर भण्डारीसहितको टोलीले आज क्षतिग्रस्त कार्यालयको निरीक्षण गरेको छ ।

Adv footer