२०८२ भदौ ३१ मंगलबार
Jhapa Today
Adv top

कारागारबाट भागेका सातजना कैदी झापामा पक्राउ


बिर्तामोड, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सातजना कैदी झापाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए ।

नियन्त्रणमा लिइएकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह–५ की २८ वर्षीया रुकसार खातुन र २८ वर्षीय एकसरा खातुन रहेका छन् । सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवैजना जिल्ला प्रहरी कार्यालय झापामा आफैँ सम्पर्कमा आएका थिए ।

कास्की कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । सोरेन घरमा आएर लुकिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किसनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ ।

सुनसरीको झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ । अरु दुईजना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् ।

Adv footer