
बिर्तामोड, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा झापामा सरकारी र निजी गरी १५२ वटा भवनमा आगजनी र तोडफोड भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार पालिका, वडा कार्यालय, संघीय, प्रदेशअन्तर्गतका कार्यालय, पार्टी कार्यालयहरु र व्यक्तिका घर गरी १५२ वटा भवनमा पूर्ण रुपमा क्षति पुगेको हो ।

भदौ २४ गते आन्दोलनका क्रममा १२ वटा पालिका, ५५ वटा वडा कार्यालय, ३७ निजी आवास, दुईवटा भन्सारसहित १० वटा संघीय कार्यालय, तीनवटा प्रादेशिक कार्यालय, नौवटा इलाका प्रहरी कार्यालय, राजनीतिक दलका आठवटा पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको उनले जानकारी दिए ।

त्यस्तै, छवटा स्थायी प्रहरी चौकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, दुईवटा अस्थायी प्रहरी चौकी, दमक भ्युटावर, गरामनी दुर्गा माविलगायतमा आगजनी र तोडफोड भएको प्रारम्भिक प्रतिवेदन संकलन भएको छ ।

उनका अनुसार जिल्लाका १५ पालिकामध्ये १२ वटाको प्रशासनिक भवन आगजनीमा ध्वस्त भएको छ । हल्दिबारी गाउँपालिकामा कुनै पनि क्षति भएको छैन भने कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा भने सामान्य क्षति भएको उनले बताए ।

कनकाई, दमक, गौरादह, मेचीनगर, बिर्तामोड, अर्जुनधारा र भद्रपुर गरी सातवटा नगरपालिका, गौरीगञ्ज, बुद्धशान्ति, बाह्रदशी, कचनकवल र झापा गरी पाँचवटा गाउँपालिकाको प्रशासनिक भवनमा क्षति पुगेको छ । जिल्लाका ५५ वटा वडा कार्यालयको भवनमा क्षति पुगेको छ ।
जिल्लामा भएको भौतिक क्षतिको विवरण संकलन कार्य जारी रहेको हुँदा आर्थिक क्षतिको मूल्यांकन बाँकी रहेको प्रसाईंले बताए । उनकै संयोजकत्वमा मूल्याङ्कन समिति निर्माण हुने भएको छ । समिति निर्माणका लागि कानुनबमोजिम सदस्यहरु पठाइदिन सम्बन्धित कार्यालयहरुसँग माग गरिएको छ ।
समितिमा एक जना सिभिल इन्जिनियर, एक जना आइटी इन्जिनियर, अफिसर लेबलको सरकारी वकिल, प्रहरी इन्स्पेक्टर, कोलेनिका प्रमुख र प्रमुख जिल्ला अधिकारीले तोकेका थप दुईजना प्रतिनिधि रहने उनको भनाइ छ ।
झापामा भएको क्षतिको विवरण प्रहरीले संकलन गर्ने र सोहीअनुसारको सर्जिमिन मुचुल्का उठाउने काम धमाधम भइरहेको छ । त्यसैकै आधारमा मूल्यांकन समितिले क्षतिको मूल्याङ्कन गर्ने सूचना अधिकारी प्रसाईंले बताए ।