
बिर्तामोड, असोज ६ । जेनजी प्रदर्शनका क्रममा घाइते भएर बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा भर्ना भएका सबै घाइतेको उपचार निःशुल्क गरिएको छ । उपचाररत सबै घाइते उपचारपछि घर फर्किएका छन् ।




भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते भएकामध्ये सातजना उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । त्यसमध्ये अर्जुनधारा ११ का ३० वर्षीय गोपाल सेढाईको मृत्यु भएको थियो । उनको छातीमा गोली लागेको थियो ।




अस्पताल प्रशासनका अनुसार घाइते सबैको निःशुल्क उपचार भएको हो । उपचारमा आएकामध्ये बिर्तामोड ४ का १५ वर्षीय सुमित साह, कनकाई-३ का ३२ वर्षीय चिरञ्जीवी खनालको उपचार निःशुल्क गरिएको हो ।




त्यस्तै, बिर्तामोड-९ का १६ वर्षीय सन्देश गिरी, बिर्तामोड-४ का ५० वर्षीय रामभजन साह, हल्दिबारी-२ का २३ वर्षीय अनिश श्रेष्ठ, माई नगरपालिका-२ का २८ वर्षीय रुपेश ढुङ्गाना उपचारपछि घर फर्किएका हुन् ।




अस्पताल प्रशासक विनोदकुमार बस्नेतका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरु आउन सुरु गरेसँगै अस्पतालले बिरामीको संख्या बढ्न सक्ने भन्दै १५ शैय्या तयारी अवस्थामा राखेको थियो ।




डाक्टरलाई समेत विदा बस्न नदिई तयारी अवस्थामा राखेको थियो । घाइते सबैको उच्च प्राथमिकताका साथ उपचार गरिएको हो ।



