
बिर्तामोड, असोज १८ । मनसुनी वायु थप बढी सक्रिय हुँदा देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा हलदेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।




अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा असोज २० गतेसम्म जारी रहने पूर्वानुमान छ ।




हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको हो ।




मौसमविदले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन् । यो प्रणाली तीन दिनसम्म रहने अनुमान छ ।




मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।




मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।




त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पानी पार्ने यो बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्मै पुगेको छ । भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा केन्द्रित छ । खासगरी हेटौंडादेखि ललितपुर र आसपासमा मध्यम वर्षा जारी रहने पूर्वानुमान छ ।