
बिर्तामोड, असोज १९ । हिजो साँझदेखि आज बिहानसम्म लगातार भएको भारी वर्षाले एसियन हाइवेअन्तर्गत झापाका विभिन्न स्थानमा डाइभर्सन बगाएको छ ।




भारी वर्षाका कारण पानीको निकास नहुँदा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको प्रहरीलले जनाएको छ ।




निर्माणाधीन एसियन हाइवेको डाइभर्सनअन्तर्गत काँकरभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा पानीको सतह बढेर सडक माथिबाट पानी बगिरहेको छ ।




जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलका अनुसार माईधार र दुधेबीचको डाइभर्सन पनि बगाएको छ । डाइभर्सन बगाएपछि यात्रुहरु अलपत्र परेको जनाइएको छ ।




जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर लामो दूरीका सवारी साधनहरुलाई हिजैबाट चल्न रोक लगाएको थियो । एसियन हाइवेका डाइभर्सन हिजो नै जोखिमपूर्ण बनेका थिए ।



