२०८२ असोज २४ शुक्रबार
Jhapa Today
Adv top

जोरकलश-माईखोला सडक एकतर्फी सञ्चालनमा


बिर्तामोड, असोज २१ । अविरल वर्षापछि आएको बाढी–पहिरोले अवरुद्ध बनेको मेची राजमार्ग आशिंक खुलाइएको छ । इलाम प्रशासनले झापाको सिमना जोरकलशदेखि माईखोलासम्म सवारीसाधन सञ्चालनको अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार एकतर्फी बाटो सञ्चालन गर्नेगरी जोरकलशदेखि माईखोलासम्म यात्रुवाहक सवारीसाधन मात्र आवागमन गर्न सकिनेछ । अन्य सवारीसाधनको आवागमन भने बन्द नै गरिएको छ ।

त्यस्तै, पाँचथरबाट इलाम आउने राजमार्ग अझै अवरुद्ध भएकोले ताप्लेजुङ र पाँचथराट इलामतर्फ आउने सवारीसाधनलाई पनि पूर्णरुपमा प्रवेश निषेध गरिएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

पहिरोले पूर्वी सहडको ‘लाइफलाइन’ मानिने मेची राजमार्ग दर्जनौँ ठाउँमा अवरुद्ध थियो । झापा–इलाम सीमा जोरकलशदेखि फिक्कलसम्म खास अवरोध नभए पनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठुला अवरोध थिए ।

मेची राजमार्ग झापा–इलाम–पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो । यसबाहेक यो क्षेत्रको निर्माणाधीन केचना–कञ्चनजंघा मार्ग पनि अवरुद्ध छ ।

पुवाखोलामा केही महिनाअघि मात्र उद्घाटन गरिएको बेलीब्रिज बाढीले बगाएको छ भने माईखोलामा रहेको बेलासे पक्की पुल बीचैमा भाँच्चिएको छ ।

वैकल्पिक मार्गकै रूपमा रहेको गोदकको सिमल गोलाईदेखि तिल्केनी सडकको जोगमाई खोलामा पनि केही महिनाअघि जडान गरिएको बेली ब्रिज बाढीले बगाएको छ ।

डिभिजन सडक कार्यालयका अनुसार इलामको राजदुवालीमा पोहोर पहिरो गएकै ठाउँमा यसपालि अवरोध भएको हो ।

Adv footer