
बिर्तामोड, असोज २१ । दशकौँदेखि बाढीको चपेटामा पर्दै आएका झापा गाउँपालिकाका सुगाबथान, सडकबारी, कुवाडी, सेतुमारी, समिलबाडीलगायतका गाउँ यो वर्षको असोजे भेलमा फेरि बगे । २०७४ सालमा यी गाउँका घरहरु यसरी नै कनकाई माईखोलाको वेगले क्षतविक्षत बनाएको थियो ।




भारतीय सीमावर्ती राज्य बिहारसँग जोडिएका यी गाउँ ठुलो र सानो माईखोलाका अतिपीडित क्षेत्रमा पर्छन् । बेपर्वाह उर्लिएको माईखोलाले आठ वर्षपछि वितण्डा मच्चाएर लगभग ९० प्रतिशत गाउँबासीलाई विस्थापित बनाएको छ ।




असोज १९ गते आइतबार परेको भारी वर्षाका कारण माईखोलाको शिरदेखि नै खोला भरिएर झापाको दोमुखा हुँदै तराईतिर बिनारोकतोक बगेको थियो । यसले तराईको झापा गाउँपालिकाको १ र २ नम्बर वडालाई डुबाएर अस्तव्यस्त बनाएको छ ।




झापा गाउँपालिकाको ४ नम्बर वडाबाहेक सबै छवटा वडा कनकाई माई र बिरिङ खोलाको डरलाग्दो चेपमा पर्दै आएका छन् । वडा नम्बर १, २, ३, र ७ माईखोला तथा वडा नम्बर ५ र ६ बिरिङ खोलाबाट पीडित छन् ।




योपालिको बाढीमा जिल्लामा सबैभन्दा बढी क्षति झापा गाउँपालिकामै भएको छ । वडा नम्बर १ र २ का अधिकांश बासिन्दा प्रभावित बनेका छन् भने माईखोलाको भेल गाउँमा पस्दा दुई वडामा करोडौँको नोक्सानी भएको छ ।




चार हजार ९०७ जनसंख्या रहेको वडा नम्बर १ का करिब ८० प्रतिशत बासिन्दा डुबानमा परेका छन् । त्यस्तै, पाँच हजार १०० जनसंख्या रहेको वडा नम्बर २ का करिब ९० प्रतिशत बासिन्दा डुबानको मारमा परेका छन् ।




त्यस्तै, झापा गाउँपालिकाको वडा नम्बर ३, ५, ६ र ७ नम्बर वडा पनि प्रभावित बनेका छन् । १ हजार ३५० घरधुरी रहेको वडा नम्बर ३ मा करिब ५० प्रतिशत, ८०० घरधुरी रहेको वडा नम्बर ७ मा करिब ४० प्रतिशत घरधुरी डुबानमा परेका छन् ।
त्यस्तै, १ हजार ४०० घरधुरी रहेको वडा नम्बर ५ मा १०८ घरधुरी प्रभावित र ३४ घरधुरीलाई पूर्ण क्षति पुगेको छ । वडा नम्बर ६ को करिब एक सय घर डुबानको मारमा परेको प्रहरीको भनाइ छ ।
झापा गाउँपालिकामा ८ हजार ५१५ घरधुरी र ३९ हजार ३०२ जनसंख्या रहेको छ । झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले गाउँपालिकाभरि भएको क्षतिको विवरण निकाल्ने काम भइरहेको जानकारी दिइन् ।
झापा गाउँपालिकामा ३ हजार ५०० घरधुरीका १२ हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ । बाढीग्रस्त झापा गाउँपालिकाको वडा नम्बर १, २ र ३ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ ।