
बिर्तामोड, असोज २४ । गोल्डम्यान स्याक्सको अनुसन्धानअनुसार २०२६ को मध्यसम्म सुनको मूल्यमा अझै करिब ६ प्रतिशतले वृद्धि हुन सक्छ । सुनको मूल्य बढ्नुको मुख्य कारण विश्वव्यापी आर्थिक अस्थिरता, विभिन्न देशहरूमा सैन्य संघर्ष, र लगानीकर्ताहरूको सुनलाई सुरक्षित लगानीको रूपमा हेर्ने प्रवृत्ति हो ।

विगत २० वर्षको तथ्यांकअनुसार सुनमा लगानीले प्रायः घाटा दिएको छैन र केवल चार वर्षमा सानो प्रतिशतमा मूल्य घटेको देखिन्छ । नेपालमा बढ्दो सुनको मूल्यका बाबजुद, ग्राहकहरूले सुन खरिद जारी राखेका छन् । नेपाल, भारत लगायतका एसियाली देशमा सुनलाई पुँजीको रूपमा हेरिन्छ । प्रमुख पर्व र विवाहको मौसममा सुनको माग अत्यधिक रहन्छ ।

गहना बिक्रीमा केही घटबढ भए तापनि सिक्का र बुलियनको बिक्रीमा वृद्धि देखिएको छ । नेपालका सुनचाँदी व्यवसायीहरुका अनुसार धनतेरसमा र दीपावलीको समयमा सुनको बिक्री रेकर्ड कायम गर्न सक्नेछ ।

विशेषज्ञहरूले सुनमा लगानीलाई दीर्घकालीन र सुरक्षित विकल्पका रूपमा लिन सुझाव दिएका छन् । वर्तमानमा नेपाल लगायत विश्वका शेयर बजार अस्थिर रहँदा र वैश्विक आर्थिक अस्थिरता हुँदा सुनमा लगानीले जोखिम कम गर्ने प्रभावकारी उपायको रूपमा काम गर्दछ ।

सुनको मूल्य देशअनुसार फरक पर्छ । सेन्ट्रल बैंकको रिजर्भ, अमेरिकी डलरको मजबुती, सुनको आपूर्ति र माग तथा स्थानीय कर प्रणालीले मूल्य निर्धारणमा प्रभाव पार्दछ । बिजनेस वेबसाइट फोब्र्सका अनुसार बहरीन, कुवेत, मलेसिया, ओमान, कÞतर, सिंगापुर, दुबई, अमेरिका र पेरूमा सुन सस्तो उपलब्ध छ ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । जुन अघिल्लो दिनको २ लाख ३८ हजार रुपैयाँको तुलनामा करिब १,२०० रुपैयाँले बढी हो ।







