२०८२ असोज २७ सोमबार
Jhapa Today
Adv top

दमकबाट हतियार लुट्नेसहित आठजना लागुऔषध अड्डामा पक्राउ


बिर्तामोड, असोज २६ । झापामा प्रहरीको हतियार लुट्ने र हिरासतबाट भागेका दुईसहित आठजना लागुऔषधसाथ पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो ।

दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ हट नम्बर ३५३ मा छापा मारेको प्रहरीले जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने र इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट भागेका थुनुवासहित आठजनालाई ७ ग्राम ८०० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । घरधनी दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविरका २७ वर्षीय साजन थापा, इलाम चुलाचुली–३ का ३२ वर्षीय दिपेश तामाङ र ३२ वर्षीय सनम राई पक्राउ परेका हुन् ।

त्यस्तै, दमक–३ का १८ वर्षीय आदित्य लिम्बू, १९ वर्षीय पविन विश्वकर्मा र २५ वर्षीय सुचन दर्जी, बेलडाँगी भुटानी शिविरका २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये आदित्य लिम्बू जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय झापका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट फरार रहेका व्यक्ति हुन् । त्यसबेला उनी लागुऔषध मुद्दाको अनुसन्धानका लागि हिरासतमा थिए ।

घरको कोठा तलासी गर्दा चश्माको खोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । बरामद लागुऔषध र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer