२०८२ असोज २७ सोमबार
Jhapa Today
Adv top

मेची करिडोरको पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण


बिर्तामोड, असोज २७ । झापाको बिर्तामोडदेखि इलाम सदरमुकाम जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजंघा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् ।

इलाम नगरपालिका–९ भाङटार र वडा नम्बर ११ सोयाक जोड्ने पुवाखोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरुले वैकल्पिक रुपमा काठको मोटरेबल पुल तयार गरेका हुन् ।

स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लम्बाइ र आठ फिट चौडाइको काठको पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि स्थानीयबासीले पाँच दिन लगातार श्रमदान गरेका थिए ।

बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँग सडक सञ्चाल विच्छेद भएकाले तत्कालका लागि काठको पुल निर्माणमा जुटेको अभियानका नेतृत्वकर्ता राईले जानकारी दिए ।

बाडीले मेची करिडोरअन्तर्गत तीन ठाउँका पुल बगाएको थियो । केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।

इलाम नगरपालिका–११ बेलासेमा माईखोला माथि करिब ५ वर्ष पहिले मात्रै बनेको पक्की पुल क्षतिग्रस्त भएपछि त्यहाँबाट आउजाउ ठप्प भएको थियो ।

ठुलो पहिरोले मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोकिएपछि वैकल्पिक सडकका रूपमा मेची करिडोर प्रयोग हुँदै आएको थियो ।

Adv footer