मेचीनगर, असोज ३० । झापाको मेचीनगरमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर–१५ का ४२ वर्षीय सन्तोष लिम्बू रहेका छन् । उनको आज दिउँसो ३ बजे मृत्यु भएको हो ।




लिम्बू मेचीनगर–१५ निलकोठीस्थित घरनजिकै रहेको टिमाई नहरमा करेन्ट लगाएर माछा मार्न गएका थिए । उनलाई २ः३० बजे एक्कासि करेन्ट लागेको थियो ।




करेन्ट लागेर बेहोस भएका लिम्बूको उपचारको क्रममा मेची आम्दा अस्पताल धुलाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।




जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । झापामा गत दुई महिनामा करेन्ट लगाएर माछा मार्ने क्रममा छजनाको मृत्यु भइसकेको छ ।



