
बिर्तामोड, कात्तिक ३ । बितामोडका युवाहरुको पुरानो र स्थापित सामाजिक संस्था चाहना समूहले इको म्युजिक फेस्टको आयोजना गर्ने भएको छ । ‘लागुपदार्थलाई होइन भन, संगीतलाई हो भन’ भन्ने मुल नाराका साथ सांगीतिक कार्यक्रम हुने भएको हो ।




यही कात्तिक ११ गते बिर्तामोडको मंगलदीप टोलमा हुने बृहत सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको चाहना समूह बिर्तामोडका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जीवन भण्डारीले बताए ।




लागुपदार्थको सेवनबाट टाढै रहौँ तथा प्रयोग कर्ता भएको भए सुधारकेन्द्रमा पुनर्स्थापित गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रममा नेपालको ख्यातिप्राप्त ब्यान्डहरूको प्रस्तुतिसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने संस्थाका सल्लाहकार मदन राईले बताए ।




चाहना समूहले बिर्तामोडको इभ इनसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरेको इभ इनका सञ्चालक विशाल अग्रवालले जानकारी दिए । कार्यक्रममा नेपालको चर्चित ब्यान्ड पूर्ण राई दाजुभाइहरु, स्वरको बेजोड प्रस्तुति रहने उनले बताए ।




सोही कार्यक्रममा बिर्तामोडका अर्नव बनको पनि प्रस्तुति रहनेछ । कार्यक्रममा २५ लाख रुपैयाँ खर्च अनुमान गरिएको समूहका अध्यक्ष रोजित गुरुङले बताए । कार्यक्रमको दिन समाजमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने गुरुङले जानकारी दिए ।




आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आयोजकले कार्यक्रमबारे जानकारी दिएको हो । सोही कार्यक्रममा चाहना समूहको आधिकारिक टिसर्ट सार्वजनिक गरिएको थियो । टिसर्ट मलेसियाको आरटी फुटबल क्लबले उपलब्ध गराएको हो ।



