बिर्तामोड, कात्तिक ५ । झापाको अर्जुनधारामा लक्ष्मीपूजाको दिन पूजा गर्न राखिएको सुनचाँदीका गहना र नगद चोरी भएको प्रहरीले जनाएको छ । पूजाकोठामा राखिएको धनमाल चोरी भएको हो ।




चोरले करिब तीन तोलाको सुनको छड्के तिलहरी, चुरा, औँठी, झुम्का र पूजा गर्न राखिएको नगद ५ हजारसहित करिब ७ लाख ५ हजार बराबरको सामान चोरेर लगेको हो ।




प्रहरीका अनुसार हिजो बिहानको राति २ः३० बजे अर्जुनधारा–६ बिहानी टोल रोड नम्बर १६ बस्ने रमेश काफ्लेको दुईतले घरको माथिल्लो तलाबाट पूजाकोठामा लक्ष्मीपूजा गर्न राखिएको धनमाल चोरी भएको हो ।




सेतो धर्के सर्ट लगाएका अन्दाजी २५ वर्षीय युवा घरभित्र पसेको बताइएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।



