
बिर्तामोड, कात्तिक ५ । हुलाकी राजमार्गअन्तर्गतको महत्वपूर्ण कन्काई पुल निर्माणको ठेक्का १४ वर्ष अघि पप्पु कन्स्ट्रक्सन र महादेव खिम्तीले लिएका थिए । यो पुल निर्माण अलपत्र पारेपछि निर्देशनालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।




महादेव खिम्तीका मुख्य व्यक्ति निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह हुन् भने पप्पु पूर्वसांसद हरिनारायण रौनियारको कम्पनी हो । ठेकदार कम्पनीको लापरबाहीले पुल निर्माण अलपत्र परेको छ ।




सप्तरीमा पर्ने ५५ मिटर लामो बनैनिया पुल र कञ्चनपुर–राजविराज खण्डमा पर्ने कलिया खोला पुल समयमा सम्पन्न नगरेको भन्दै लामा/बाम्ती जेभीको ठेक्का तोड्ने प्रक्रिया थालिएको छ ।




मेची–रागढसम्म नाली निर्माण र फत्तेपुर–कटिया सडक स्तरोन्नति समयमा नगरेको भन्दै कान्छाराम/बाम्ती/देव र शयर जेभीसँगको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । कान्छाराम जेभीका मुख्य व्यक्ति पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ हुन् ।




यो राजमार्ग १६ वर्षसम्म पनि आयोजना सम्पन्न नहुनुमा निर्माण व्यवसायीहरूको गैरजिम्मेवारी पनि प्रमुख कारकका रूपमा रहेको छ ।




काम न्यून, लागत बढ्दै
यो आयोजना निर्माणमा ढिलाइ हुँदा लागत बढ्दै गएको छ । आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको यो आयोजना ८ वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएकोमा १६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । हालसम्म समग्र भौतिक प्रगति ७२.७५ प्रतिशत मात्र छ ।




सुरुवाती लागत ४७ अर्ब २४ करोडबाट बढेर कुल अनुमानित लागत १ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यसको ६८.९६ प्रतिशत अर्थात् ७० अर्ब २८ करोड ६३ लाख रुपैयाँ खर्च भइसकेको छ ।
पूर्वमा झापाको भद्रपुरदेखि पश्चिम कन्चनपुरको दैजीसम्म निर्वाध आवागमन सञ्चालन हुने र सामाजिक र आर्थिक गतिविधिमा विस्तार हुने अपेक्षा गरिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आर्थिक वर्ष २०७४/७५ मा निर्माण सम्पन्न भइसक्नुपर्ने यो आयोजनाको म्याद थप्दै २०८३/८४ सम्म पु-याइएको छ ।