२०८२ कात्तिक ८ शनिबार
Jhapa Today
Adv top

छठ पर्व आजदेखि सुरु, बिरिङमा भव्य तयारी


बिर्तामोड, कात्तिक ८ । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।

पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन भोलि (आइतबार) खरना रहेको छ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।

तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अघ्र्य दिने चलन छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै, ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अघ्र्य अर्पण गरिन्छ ।

अघ्र्य दिने व्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतिकका रूपमा पनि लिइन्छ ।

बिरिङमा भव्य तयारी
व्रतालुहरुको संख्या बढ्दै गएपछि झापाको बिरिङ खोलामा भव्य छठ पूजाको तयारी गरिएको छ । छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ खोलामा छठ पूजाको लागि ८० प्रतिशत तयारी पूरा भइसकेको जनाएको छ ।

बिरिङ किनारमा यो वर्ष १७५ वटा घाट रहनेछ । गत वर्ष १५४ वटा घाट रहेका थिए । व्रतालुहरुको संख्या थपिएपछि यस वर्ष २१ वटा घाट थप्नु परेको समितिकी अध्यक्ष संगीता रौनियारले बताइन् ।

संस्थाका पूर्वअध्यक्ष घनश्याम चौधरीले छठ पूजाको सुरक्षाका लागि जनपद र सशस्त्र प्रहरीलाई आग्रह गरिएको बताए । त्यस्तै, पूर्वअध्यक्ष देवेन्द्रकुमार सिंहले सुरक्षा निकायका सुरक्षाकर्मीसँगै ३० जना निजी सुरक्षागार्ड राखिने जानकारी दिए ।

कार्यक्रममा मूल समितिका संयोजक राजकुमार शाहले आइतबारसम्म सम्पूर्ण तयारी भइसक्ने जानकारी दिए । छठ पूजाका लागि मूल समितिसँगै विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

पूजामा बिर्तामोड, चारपाने, अर्जुनधारा, लक्ष्मीपुर, दुर्गापुरलगायतका स्थानबाट व्रतालुहरु आउने आयोजक समितिले जनाएको छ । पूजा व्यवस्थापनका लागि करिब १३ लाख रुपैयाँ खर्च अनुमान गरिएको आर्थिक संयोजक अनन्तलाल महतोेले जानकारी दिए ।

Adv footer