
दमक, कात्तिक १२ । झापाको दमकमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । बसमा ३५ जना यात्रु रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटना हिजो राति ११ः५५ बजे दमक-२ पाणिनीचोकमा भएको हो । भित्री सडक खण्डमा दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा. २ ख १९८३ नम्बरको बस दुर्घटना भएको हो ।
अनियन्त्रित भएर बस सडकको नालीमा पल्टिएको थियो । दुर्घटनामा मोरङ मिक्लाजुङ-३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक मिक्लाजुङ-३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ ।
सबै घाइतेहरु मिक्लाजुङ-३ का बासिन्दा रहेको प्रहरीले जनाएको छ ।






