२०८२ कात्तिक १२ बुधबार
Jhapa Today
Adv top

बिर्तामोडका अभियान्ता झालाई शहरी विकासमन्त्रीको प्रस्ताव


बिर्तामोड, कात्तिक १२ । समाजसेवासँगै व्यापारमा उदाउँदै गरेका बिर्तामोडका युवा माधवकुमार झालाई अन्तरिम सरकारको मन्त्री बन्नका लागि प्रस्ताव आएको छ ।

शक्तिकेन्द्रको रुपमा रहेको झापा जिल्लाबाट हालको सरकारमा प्रतिनिधित्व नभएपछि झापाका जेनजी अभियान्ताहरुले झालाई मन्त्री बनाउन दबाब दिएका छन् । झालाई शहरी विकासमन्त्री बन्न प्रस्ताव गरिएको बताइएको छ ।

झाले पछिल्लो समय ‘मिसन बिर्तामोड’ परिवर्तनका लागि युवा अभियान सुरु गरेका छन् । झाकै अगुवाईमा बिर्तामोड सामुदायिक पुस्तकालय सञ्चालनमा रहेको छ । मिसन बिर्तामोडले सामाजिक विकृति तथा समस्याहरुको समाधानको विषयमा बोल्दै आएको छ ।

त्यस्तै, आत्मदह गरेर मृत्युवरण गरेका इलामका प्रेम आचार्यको न्यायको लागि झा मुक्तिचोकमा अनशन बसेका थिए । बिर्तामोडका युवामाझ लोकप्रिय २५ वर्षीय उनी साथीभाइको साह्रोगाह्रोमा तुरुन्त पुगिहाल्छन् ।

युथ फर सोसियल ट्रान्सफरमेसन नामक संस्थाको स्थापना गरेर उनले बालबालिकाको क्षेत्रमा पनि काम गर्दै आएका छन् । सो संस्था विपन्न बालबालिकालाई छात्रवृत्ति दिएर पढाउने उद्देश्यले स्थापना भएको हो ।

बालबालिकाका लागि उनले झापाका ग्रामीण क्षेत्रमा शैक्षिक सामग्रीदेखि अन्य सहयोग गर्दै आएका छन् । साथीभाइमाझ ‘टाइगर’ उपनामले परिचित उनी काम पनि त्यस्तै गर्न रुचाउँछन् ।

हक्की, निडर र लिडर उनले आफ्नो व्यक्तिगत खर्चमा १५ जना विपन्न विद्यार्थीलाई पढाइरहेका छन् । मधेश प्रदेशका ती विद्यार्थी तीन वर्षयता झाले प्रदान गर्दै आएको खर्चमा अध्ययन गरिरहेका छन् ।

उनको संस्थाले सुरुवाती दिनमा स्कुलसम्म पुगेर विद्यार्थीलाई तालिम, शैक्षिक सामग्री वितरण, विशेषज्ञ लगेर परीक्षा लेख्न सिकाउने, उत्प्रेरणामुलक तालिम तथा अन्य सहयोग गरेका छन् ।

खासगरी सामुदायिक विद्यालयका विद्यार्थीहरुमा देखिने अनेकन मनोसामाजिक समस्या दूर गर्न झा र उनको टिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । झाले झापामा लागुऔषधको लतमा लागेका युवालाई नयाँ जीवन प्रदान गर्न सुधार केन्द्र सञ्चालन गर्ने योजना बनाएका छन् ।

उनले आगामी दिनका लागि नयाँ भिजन ल्याएका छन्, युवा सशक्तीकरण र जागरण । त्यस्तै, युवालाई उद्यमी, व्यवसायी कसरी बनाउने, स्वदेशमै उनीहरुलाई कसरी व्यस्त बनाउने भन्नेबारे योजना बनाइरहेको उनी सुनाउँछन् ।

Adv footer