२०८२ कात्तिक १४ शुक्रबार
Jhapa Today
Adv top

दमकका ठकुरीको शव ८ महिनादेखि अमेरिकामा


बिर्तामोड, कात्तिक १४ । झापाका एकजना युवाको शव ८ महिनादेखि अमेरिकाको न्युयोर्क सहरमा यत्तिकै रहेको समाचार आएको छ । विगत ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा शव फेला परेको हो । उनी इडिभी परेर अमेरिका गएका थिए ।

झापाको दमक स्थायी घर भएका प्रशान्त ठकुरीका नामबाट समेत चिनिने ४१ वर्षीय धनबहादुर सन् २०१४ मा अमेरिका गएका थिए । न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयले सोमबार मात्र ठकुरीको शवबारे न्युयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गरेको जनाएको छ ।

अमेरिकी सरकारको हराएका र अज्ञात व्यक्तिको विवरण राख्ने राष्ट्रिय प्रणाली ‘नामुस’ का अनुसार ठकुरीको मृत शरीर फेब्रुअरी ८ मा न्युयोर्कमा भेटिएको हो । उनको शव न्युयोर्क सिटीको ३५ औँ स्ट्रिटको पार्क एभिन्यु र लेक्जिङ्टन एभिन्युको बीचमा फेला परेको थियो ।

फेब्रुअरीमा शव भेटिए पनि उनको पहिचान भने मे १७ मा मात्र खुलेको देखिन्छ । हालसम्म उनको शव दाबी नगरिएको अवस्था (अनक्लेम्ड स्टाटस) मा राखिएको छ ।

उनी केही महिनादेखि बेपत्ता थिए । एनआरएनए न्युयोर्क च्याप्टरका कोषाध्यक्ष गौतम ढकालका अनुसार उनको खोजी गर्ने क्रममा हराएका व्यक्तिको राष्ट्रिय प्रणालीमा उनको नाम भेटिएको थियो । ढकालले आफूहरू झन्डै चार वर्षअघि केही महिना एउटै अपार्टमेन्टमा बसेको समेत बताए ।

परिवारका सदस्यहरू अमेरिकामा नभएका कारण ठकुरीको शव अहिलेसम्म औपचारिक रूपमा दाबी गरिएको छैन । यद्यपि, सरकारी निकायले परिवारका सदस्यहरूलाई उनको मृत्युबारे जानकारी दिइसकेको जनाएको छ । उनकी श्रीमती नेपालमै रहेको र परिवारका सदस्यहरू अमेरिका आउने भिसा प्रक्रियामा रहेको बताइएको छ ।

Adv footer