
बिर्तामोड, कात्तिक २९ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा ‘बिग स्कुल प्रोजेक्ट’ अन्तर्गत निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रतन राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भवनको शिलन्यास गरेका छन् ।
कार्यक्रममा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत सञ्चालन हुने ‘बिग स्कुल प्रोजेक्ट’ अन्तर्गत भवन निर्माण कार्य अघि बढाइने प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् ।
१२ कोठे सो भवन विद्यालयको पश्चिम उत्तरतर्फ शिलान्यास गरिएको छ । सो स्थानमा जापानको जाइकाले बनाएको भवन रहेको थियो । सो भवन जीर्ण भएपछि भत्काइएको छ ।
प्रधानाध्यापक श्रेष्ठले स्वागत गरेको कार्यक्रममा शिक्षा मन्त्रालयको केन्द्रीय आयोजनाका निर्देशक लक्ष्मीप्रसाद भट्टराई, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तीलचन भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
६ करोड रुपैयाँको लागतमा भवन निर्माण सुरु गरिएको हो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए ।





