
बिर्तामोड, कात्तिक २९ । नेपालकै सुविधासम्पन्न झापा बिर्तामोडको मेची आँखा अस्पताल (संघ) ले आफ्नो वार्षिकोत्सव कार्यक्रममा एकजना संस्थापकसहित चिकित्सक र कर्मचारीलाई सम्मान गरेको छ ।
सैनिकमोडस्थित अस्पतालको भव्य सभाहलमा आयोजित २९ औँ वार्षिकोत्सवमा उनीहरुलाई सम्मान गरिएको हो । संस्थाको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने संस्थापक सदस्य चण्डीप्रसाद पराजुलीलाई सम्मान गरिएको थियो । सो सम्मान पराजुलीकी श्रीमती यशोदा पराजुली र बुहारी कुसुम अधिकारी पराजुलीले ग्रहण गरेका थिए ।
त्यस्तै, उत्कृष्ट कार्य गर्ने कर्मचारीहरू उत्कृष्ट नेत्र विशेषज्ञ डा.अशेष कोइराला, उत्कृष्ट नेत्र सहायक निरज दाहाल, उत्कृष्ट कर्मचारी सविता संग्रौला, मालती तामाङ, डिल्ली सिटौला, नन्दु ताजपुरिया, उत्कृष्ट सुरक्षाकर्मी धनबहादुर बस्नेत, उत्कृष्ट सफाइ कर्मचारी बबिता धिमाल, उत्कृष्ट प्राथमिक आँखा उपचार केन्द्र दमकलाई पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेशकुमार वंशलले स्वागत गरेका थिए ।
त्यस्तै, कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.पुरूषोत्तम जोशीले अस्पतालको गतिविधिको बारेमा जानकारी गराएका थिए । अस्पतालले २९ वर्षको अवधिका ३६ लाख बिरामीको उपचार गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, अस्पतालका संस्थापक अध्यक्ष डा. गोपालप्रसाद पोखरेल, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, आइ केयर फाउन्डेसनका कन्ट्री डाइरेक्टर अनिल गोर्खाली, सम्मानित पराजुलीकी बुहारी कुसुम पराजुलीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा आइ केयर फाउन्डेसनले अस्पताललाई आँखा जाँच्ने पोर्टेवल मेसिन प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन अस्पताल संघका सचिव सुरज खत्रीले गरेका थिए ।





