
बिर्तामोड, मंसिर ३ । झापाको पूर्वोत्तर बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीत भण्डार निर्माण प्रक्रिया अघि बढाएको छ ।
बुद्धशान्ति-४ को टिमाईस्थित सब्जी मण्डीमा २२ लाख रुपैयाँको लागतमा शीत भण्डार बनाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए ।
शीत भण्डारसहितको आधुनिक कृषि मण्डी निर्माणमा ६२ लाख रुपैयाँ खर्च लाग्ने भएको छ । जसका लागि कोशी प्रदेश सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत साझेदारी गर्ने भएका छन् ।

आर्थिक वर्ष २०८२/०८३ मा उक्त निर्माणका लागि प्रदेश र पालिकाले आवश्यक बजेट विनियोजन गरिसकेका छन् । बुद्धशान्तिको वडा नम्बर ४ मा शीत भण्डार र वडा नम्बर ३ मा कृषि मण्डी निर्माण गरिने बताइएको छ ।
शीत भण्डार निर्माण भएपछि किसानले उत्पादन गरेका कृषिजन्य सामग्री भण्डारण गरेर उचित मूल्यमा बेच्न सक्ने पालिकाले विश्वास लिएको छ । शीत भण्डारका लागि किसानहरुले माग गर्दै आएका थिए ।
यहाँको शीत भण्डारबाट छिमेकी रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाका किसानहरु पनि लाभान्वित हुनेछन् । स्थानीय किसान बाबुलाल राजवंशीले शीत भण्डार निर्माण हुन लागेकामा खुसी व्यक्त गर्दै अब यहाँ उत्पादित तरकारी तत्कालै बिक्री नभएर कम मूल्यमा बेच्नुपर्ने बाध्यता अन्त्य हुने आशा व्यक्त गरे ।
बुद्धशान्ति व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानको संख्या धेरै भएको पालिकाको रुपमा चिनिँदै आएको छ । शीत भण्डारका लागि पालिकाले बजेट सुनिश्चित गरेर स्थानको छनोट गरिसकेको प्रसाईंले जानकारी दिए ।







