२०८२ मंसिर ४ बिहीबार
Jhapa Today
Adv top

बिर्तामोडमा मध्यरातमा हल्ला गर्दै हिँड्ने चार युवतीसहित १० जना पक्राउ


बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोडबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चारजना महिला रहेका छन् । उनीहरु पक्राउ परेको कारण भने प्रहरीले बताएको छैन ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले गरेको स्विप अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् । मध्यरातसम्म बिर्तामोडका सडकमा होहल्ला गर्दै हिँडेका उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

हिजो राति १० बजेदेखि २ बजेसम्म प्रहरीले गरेको अपरेसनमा बिर्तामोडमा बस्दै आएका विभिन्न ठाउँका जेन्जी उमेर समूहका उनीहरु पक्राउ परेका हुन् । त्यस्तै, मोडिफाई गरिएका तथा ठुलो आवाज निकाल्ने चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–२ बस्ने मदनकुमाल लुहागुन, अर्जुनधारा–११ का विक्रम गिरी, गोकुल शिवाकोटी, मोरङको लेटाङ–९ बस्ने सिर्जना कार्की, पाँचथरको रवि–१ बस्ने प्रमिस्का लिम्बू रहेका छन् ।

त्यस्तै, मेचीनगर–१० बस्ने विशाल दनुवार, बिर्तामोड–३ बस्ने सुरज राजवंशी, बिर्तामोड–५ बस्ने निलम तामाङ, अर्जुनधारा–७ बस्ने प्रार्थना खड्का र कनकाई–३ बस्ने सन्तोष ओझा रहेका छन् ।

यसैबीच, मोडिफाई गरेको तथा ठुलो आवाज पारेर कुदाइएका बा. ८२ प ५७७, मे. ११ प ३०१०, मे. ७ प ६८८० र मे. १० प १६११ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Adv footer