२०८२ मंसिर ७ आइतबार
Jhapa Today
Adv top

झापामा थपिए ३५ हजार ३१९ नयाँ मतदाता


बिर्तामोड, मंसिर ७ । झापामा ३५ हजार ३१९ जना नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि झापामा नयाँ मतदाता थप भएका हुन् ।

निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७३३ र र राष्ट्रिय परिचयपत्रमार्फत २३ हजार ५८६ नयाँ मतदाता थपिएका हुन् ।

योसँगै झापामा मतदाताको संख्या ७ लाख १४ हजार ५९५ पुगेको छ । प्रतिनिधिसभा निर्वाचन घोषणाअघि जिल्लामा मतदाताको संख्या ६ लाख ७९ हजार २७६ रहेको थियो ।

देशभरि भने आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।

आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या बढेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको संख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।

सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मंसिर ५ गतेसम्मका लागि समय थपेको थियो ।

Adv footer