२०८२ मंसिर ७ आइतबार
Jhapa Today
Adv top

नेफ्स्कुनको पाँचौँ ‘साकोस शिखर गोष्ठी’ पुसमा


बिर्तामोड, मंसिर ७ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को आयोजनामा हुने पाँचौँ संस्करणको ‘साकोस शिखर गोष्ठी– २०८२’ पुस ३ र ४ गते हुने भएको छ ।

‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ भन्ने मुल भाव र संकल्पसहित पाँचौँ साकोस शिखर गोष्ठीको आयोजना गरिएको नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जानकारी दिए ।

नेफ्स्कुनले २०६८ सालदेखि प्रत्येक तीन वर्षमा साकोस शिखर गोष्ठी आयोजना गर्दै आइरहेको छ । हेरिटेज गार्डेन ललितपुरमा हुने गोष्ठी समापन लगत्तै पुस ४ गते नेफ्स्कुनले ३४ औँ वार्षिक साधारणसभा गर्नेछ ।

गोष्ठीमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारी तथा सहकारी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहने सापकोटाले बताए ।

गोष्ठीमा सुशासन प्रवर्द्धन तथा रणनीतिक रूपान्तरणलाई केन्द्रमा राखेर आयोजना गरिएको गोष्ठीमा सहकारीका चुनौती, कानुनहरुको पालना, नियामकीय व्यवस्था, नेतृत्व रुपान्तरण र नियामकीय अनुकुलनका सम्बन्धमा विज्ञहरुद्धारा कार्यपत्र प्रस्तुत हुनेछन् ।

गोष्ठीमा देशभरबाट ७०० भन्दा बढीको सहभागिता रहने अपेक्षा नेफ्स्कुनले गरेको छ । कार्यक्रममा सहभागिता जनाउन अनलाइन फारममार्फत दर्ता गरी सहभागिता जनाउन सकिने संघले जनाएको छ ।

Adv footer