
बिर्तामोड, मंसिर ८ । प्रहरीले झापाको बिर्तामोडबाट प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपन, कपडा र अन्य सामग्रीसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोस्ट बिर्तामोड बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ स्थित एक होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरु बिहार राज्यका हुन् ।
प्रहरीले सीतामणिका ३७ वर्षीय गरिब साह, १९ वर्षीय भोला कुमार, १८ वर्षीय विकास कुमार र २३ वर्षीय अमोल गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ‘भारतीय लक्की ड्र’ का ३ हजार थान कुपन, बिलबिनाका ४८ थान कुर्ता–सुरुवाल र १० थान ग्यास चुलो बरामद गरिएको छ । बरामद सामग्रीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बिर्तामोडस्थित हाङ्मा होटेलमा बसिरहेका उनीहरूलाई शंकाको आधारमा जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बरामद भएकामध्ये लक्की ड्र कुपन नेपालमा बिक्री तथा वितरण गर्न कानुनले पूर्ण रूपमा प्रतिबन्ध लगाइएकाले सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयसहित आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।






