२०८२ मंसिर ८ सोमबार
Jhapa Today
Adv top

खेलकुद समिति अध्यक्ष भण्डारीको पदावधि कायमै


बिर्तामोड, मंसिर ८ । झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को पदावधि कायमै भएको छ । भण्डारीको पदावधि सकिएको भन्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले असोज २६ गते कोशी प्रदेशका १४ वटै जिल्लालाई पत्राचार गरेका थिए ।

२०७८ साल चैत २४ गते कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले भण्डारीलाई खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेका थिए ।

कार्यावधि समाप्त भएको भन्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले पत्र पठाएपछि भण्डारीले कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई विपक्षी बनाएर उच्च अदालत इलाममा मुद्दा दर्ता गरेका थिए ।

बोर्डको निर्देशनलाई उच्च अदालत विराटनगर, इलाम इजलासले अमान्य ठहर गरेको छ । यो निर्णयसँगै झापामा भण्डारी नेतृत्वको समिति नै कायम रहेको छ ।

तत्कालीन प्रदेश नम्बर १ को प्रदेश खेलकुद ऐन २०७६ अनुसार २०७८ असोज २४ गते गठन भएको प्रदेश खेलकुद विकास बोर्डले सोही ऐनको दफा १६ उपदफा २ खण्ड ९ क अनुसार झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा वाग्ले नेतृत्वको टिमले २०७८ साल चैत २४ गते भण्डारीलाई नियुक्त गरेको थियो ।

अहिले पुनः कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ‘पर्शुराम’ ले आफ्नो कार्यकाल सकिँदै गर्दा अध्यक्ष र उपाध्यक्षको पदावधि २०८२ कात्तिक ३ गते समाप्त हुने जानकारीसहितको पत्र पठाएपछि खेलकुद क्षेत्रमा अन्योल सिर्जना भएको थियो ।

यसअघि दसौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा बोर्डको पत्रका कारण ठुलो तरङ्ग उत्पन्न भएको थियो । योसँगै अध्यक्ष भण्डारीले प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश र प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर उक्त पत्र कार्यान्वयन नगर्न उच्च अदालत विराटनगर, इलाम इजलासमा रिट दायर गरेका थिए ।

निवेदकको तर्फबाट अधिवक्ताद्वय खगेन्द्र खरेल र नारायणप्रसाद पौडेलले बहस गरेका थिए भने बोर्डको तर्फबाट सहायक न्यायाधिवक्ता निर्मला दाहाल पोखरेल र सीमा यादवले बहस गरेका थिए ।

उच्च अदालत बिराटनगर, इलाम इजलासका न्यायाधीश रेखा थापा पाण्डे र श्यामकुमार विश्वकर्माको संयुक्त इजलासले रिटमा उल्लेखित आधारमा भण्डारीको पदावधि कायमै रहने निर्णय सुनाएको हो ।

Adv footer