
बिर्तामोड, मंसिर १५ । कर्जा सूचना केन्द्रले सहकारी संस्थालाई सदस्यता दिन सुरु गरेको छ । सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम केन्द्रले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका लागि सदस्यता प्रदान गर्न थालेको केन्द्रका प्रवक्ता विजय कुँवरले जानकारी दिए ।
केन्द्रले सहकारी प्राधिकरणको निर्देशन अनुसार सदस्यता खुला गरेकोले प्राधिकरणको कार्यक्षेत्र भएका सहकारी संस्था मात्रै यसको नियमनको दायरामा हुने कुँवरको भनाइ छ ।
गत बुधबार सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई केन्द्रको सदस्यता लिन आह्वान गरेको थियो । सञ्चालक समितिको बैठकको निर्णयअनुसार प्राधिकरणले यसका लागि सहकारी संस्थालाई सदस्यताको लागि सूचित गरेको प्राधिकरणका कार्यकारी निर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।
कसरी दिइन्छ सदस्यता ?
प्राधिकरणले सदस्यता आह्वानको सूचना बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई अभिलेखीकरण गर्ने सफ्टवेयर लन्च भएसँगै प्रकाशन गरेको छ । गत बुधबार नै यस्तो सफ्टवेयर लन्च गरिएको थियो । योसँगै सहकारी संस्थाले अनलाइनको माध्यमबाट आवश्यक कागजात पेस गरी अभिलेखीकरण गर्ने प्रबन्ध गरेको जनाएको हो ।
तर, कर्जा सूचना केन्द्रको सदस्यता भने अभिलेखीकरण भएका संस्थालाई मात्रै दिनसक्ने व्यवस्था मिलाइएको केन्द्रका प्रवक्ता कुँवरको भनाइ छ ।
यस्तो छ शुल्क संरचना
अहिले केन्द्रले दर्ता शुल्क ११३० रुपैयाँ लिने गरेको छ । सदस्यता प्राप्त गरेपछि प्रत्येक महिना प्रवाह गरिएको कर्जाको विवरण र अवस्थाबारे सूचना पठाउनुपर्छ । सबै संस्थाबाट पठाएको सूचना केन्द्रमा सुरक्षित भएर बस्छ ।
अब सदस्य संस्थाले सबै संस्थाको ऋणीको बारेमा व्यक्तिगत सूचना प्राप्त गर्न सक्छन् । प्रत्येक सूचना प्राप्त गरेबापत सूचना केन्द्रलाई शुल्क बुझाउनुपर्छ । उदाहरणका लागि कुनै ऋणीसँग अन्यत्र कतै ऋण छ कि छैन खोज्दा त्यस्तो व्यक्तिको कारोबार रहेनछ भने २८२.५० रुपैयाँ शुल्क लाग्छ । कारोबार रहेछ भने यो सूचना निकाल्न ६२१.५० रुपैयाँ लाग्छ ।
त्यस्तै, कुनै व्यक्ति कालोसूचीमा छ कि छैन भन्ने थाहा पाउन ११.३० रुपैयाँ तिर्नुपर्छ । बैंकहरूले मासिक ५६ हजार ५०० रुपैयाँ तिरेमा महिनाभरी सबै प्रकारका विवरण प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ । लघुवित्त संस्थाको ग्राहकबारे जानकारीका लागि भने कम शुल्क निर्धारण गरिएको छ ।
हाल कर्जा सूचना केन्द्रमा २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १८ वटा फाइनान्स कम्पनी, ५२ वटा लघुवित्त संस्था, पूर्वाधार बैंक, ५ वटा सहकारी संस्था, १० वटा हायर पर्चेज कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) गरी १२३ वटा संस्था सदस्य रहेको केन्द्रले जनाएको छ ।
यसअघि राष्ट्र बैंकबाट सीमित बैंकिङको कारोबार गर्न इजाजत पाएका आधारमा सहकारी संस्था केन्द्रमा सदस्य रहेको भए पनि अहिलेसम्म अरु सहकारीका लागि सदस्यता खुला थिएन । अब भने यो बाटो खुला भएको हो ।




