२०८२ मंसिर १५ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडका औषधि व्यवसायीद्वारा संशोधित ऐनविरुद्ध मौन सभा


बिर्तामोड, मंसिर १५ । नेपाल औषधि व्यवसायी संघ झापाले संशोधित ऐनविरुद्ध बिर्तामोडमा मौन सभा गरेको छ । आज बिर्तामोडस्थित दुर्गा मन्दिरअगाडि मौन सभा भएको हो ।

बिहान १० बजेबाट सुरु भएको सभामा संघका अध्यक्ष जीवनकुमार खड्का, केन्द्रीय सदस्य कञ्चन शर्मा, नेपाल आयुर्वेदिक औषधि संघका केन्द्रीय सदस्य रणदेव हजामसहित बिर्तामोडका औषधि व्यवसायी सहभागी भएका थिए ।

सहभागीहरूले प्रदर्शनका क्रममा विरोधको ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध जनाएका थिए । त्यस्तै, व्यवसायीले आज दुई घण्टा पसल बन्द गरेर विरोध जनाएका छन् । देशभरका औषधि व्यवसायीहरु मंसिर ११ गतेदेखि आन्दोलनमा छन् ।

संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलित बनेका हुन् । देशभरका ५६ जिल्लाका औषधि व्यवसायीहरुले आआफ्नो औषधि पसल बन्दसहित कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

आज ११ बजेदेखि १ बजेसम्म औषधि पसल बन्द गर्दै औषधि व्यवसायीले कालोपट्टी बाधेर आन्दोलित बनेका हुन् । देशभरका नेपाल औषधि व्यवयासी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ विरोधमा उत्रेका हुन् ।

झापामा चार सयको संख्यामा औषधि व्यवयासी रहेको संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए । उनका अनुसार सरकारले गत साउन १४ गते संशोधित ऐन ल्याएको थियो ।

साउन २१ गते सरकारलाई संघले संशोधनपछि व्यवसायीहरुमा परेको समस्याको विषयको मागसहित ध्यानाकर्षण गराएको थियो । तर, सरकारले उक्त मागको बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनको भनाइ छ ।

पुरानो औषधि ऐनमा औषधि पसलको नवीकरणको म्याद सकिएको ३५ दिनभित्र नवीकरण गर्न पाउने व्यवस्था थियो । संशोधित ऐनमा नवीकरणको म्याद सकिएको भोलिपल्ट सतप्रतिशत जरिवाना र संस्थाको नवीकरण एक महिनाभित्र नगरे स्वतः खारेज हुने उल्लेख छ ।

Adv footer