२०८२ मंसिर १७ बुधबार
Jhapa Today
Adv top

अर्जुनधारा महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड विजयी


बिर्तामोड, मंसिर १७ । झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो ।

एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ द म्याच एपिएफकी नेबिका चौधरी भइन् ।

उनलाई प्रमुख अतिथि पूर्वकानुनमन्त्री अग्नि खरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, सहआयोजकका अध्यक्ष वीरबहादुर राईलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३-० को सोझो सेटमा हराएको हो । न्यु डायमन्डले १४-५, ८-२५ र ९-२५ को सेटमा पराजित गरेको हो ।

खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन् । उनलाई प्रमुख अतिथि पूर्वकानुनमन्त्री अग्नि खरेल, अर्जुनधारा ६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोला, आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, सहआयोजकका अध्यक्ष वीरबहादुर राईलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

भोलिको पहिलो खेल नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै, दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

मंसिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।

मंसिर २० गते पहिलो सेमिफाइनल खेल बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल दिउँसो २ः३० बजे समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

Adv footer