२०८२ मंसिर १८ बिहीबार
Jhapa Today
Adv top

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित


बिर्तामोड, मंसिर १८ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले जित निकालेको छ । एपिएफको यो दोस्रो जित हो ।

आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । एपिएफले ३–१ को सेटमा आर्मीलाई स्तब्ध बनाएको हो ।

एपिएफले १५–२५, १८–२५ र १८–२५ को सेटमा आर्मीलाई पराजित गरेको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सृष्टि खड्गी भइन् ।

उनलाई प्रमुख अतिथि अर्जुनधारा नगरकी उपप्रमुख खड्गमाया पराजुली, नगद सौजन्यकर्ता सीता ढकाललगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

आजको दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ । मंसिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।

मंसिर २० गते पहिलो सेमिफाइनल खेल बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल दिउँसो २ः३० बजे समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

Adv footer