२०८२ मंसिर १९ शुक्रबार
Jhapa Today
Adv top

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै कीचकवध


बिर्तामोड, मंसिर १९ । भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, कीचकवध । महाभारतमा उल्लेख भएअनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भीमसेनले यहीँ स्थानमा कीचक राक्षसको वध गरेका थिए ।

सदरमुकाम चन्द्रगढीबाट करिब १० किलोमिटर दक्षिणमा देउनिया र मेची नदीको किनारमा अवस्थित यो क्षेत्रमा थुप्रै पुरातात्विक वस्तुहरू रहेका छन् । यहाँ एउटा षट्कोणको आकारमा पोखरी निर्माण भएको छ । जसको छेउबाट देउनिया नदी बगेको छ ।

कीचकवध क्षेत्र करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा पुरातत्व विभागले विभिन्न चरणमा उत्खनन समेत गरेको छ । यसरी उत्खनन गर्दा विभिन्न पुरातात्विक संरचना तथा सामग्रीहरू समेत भेटिएको छ ।

उत्खनन गरिएका अन्य स्थानहरू पुनः सुरक्षित रूपमा छोपिए पनि दुई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ । यस क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवनको भग्नावशेष फेला परेको थियो । अहिले यो क्षेत्र धार्मिक लगायत बिदा मनाउन र वनभोजका लागि आउनेहरूका लागि राम्रो गन्तव्य बनेको छ ।

Adv footer