
बिर्तामोड, मंसिर २० । जेनजी आन्दोलनका नाममा विध्वंश मच्चाउने तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा तोडफोड र आगजनी गर्ने आठजना जेल चलान भएका छन् । चारजनालाई पुर्पक्षका लागि र चारजनालाई धरौटी तिर्न नसकेर कारागार पठाइएको हो ।
आपराधिक उपद्रव, थुनुवा भागे भगाएको र हातहतियार मुद्दामा झापा जिल्ला अदालतमा थुनछेक हुँदा पाँचजना प्रतिवादीमध्ये तीनजनालाई पुर्पक्ष र दुईजनालाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।
सुनसरी हरिनगर-१ का २२ वर्षीय साहिद हुसेन अन्सारी, बिर्तामोड-५ का ४५ वर्षीय नवराज राई र बिर्तामोड-३ का २१ वर्षीय बादल राजवंशीलाई पुर्पक्षमा पठाउने आदेश भएको हो ।
त्यस्तै, बिर्तामोड-५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा-७ का २८ वर्षीय सुरज राईलाई जनही ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएकोमा धरौटी दिन नसकेपछि थुनामा पठाइएको झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।
यसअघि बिर्तामोड-५ का २० वर्षीय राजन चौधरी, बिर्तामोड-५ का १६ वर्षीय आयुष धिमाल र बिर्तामोड-६ का २४ वर्षीय अनिश मण्डललाई कारागार पठाइसकिएको छ । कारागार चलान हुनेहरुमाथि दोहोरो र तेहोरो अभियोग रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले बताए ।
नवराज राईमाथि तेहोरो अभियोग लागेको छ भने अनिश मण्डल, साहिद हुसेन अन्सारी, पूजा राई, सुरज राईमाथि दोहोरो अभियोग लागेको श्रेष्ठले जानकारी दिए ।
यसअघि जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने १३ जना जेल चलान भएका थिए । तीन दिनअघि विभिन्न मितिमा पक्राउ परेकाहरुलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियोे ।
जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा आक्रमण गर्ने ४६ जना पक्राउ परेका छन् । त्यसमध्ये २१ जना जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।




