
बिर्तामोड, मंसिर २८ । झापाको बिर्तामोडमा रहेको गुणस्तरीय कृषि सहकारी संस्थाको शेयर पुँजी ६२ लाख ७४ हजार ६०० रुपैयाँ पुगेको छ ।
संस्थाको इलामस्थित सुखानीमा सम्पन्न दसौँ वार्षिक साधारणसभामा अध्यक्ष कर्णबहादुर पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाले ३ लाख ९८ हजार २६४ रुपैयाँ नाफा गरेको छ ।
त्यस्तै, संस्थाले एक करोड ५० लाख ८१ हजार ३२२ रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रमको अवसरमा असल बचतकर्ता सीता अधिकारी र असल कर्जातर्फ गोपालराज कडरियालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

साधारणसभामा वैदेशिक रोजगार व्यवसायी संघ झापाका महासचिव निरन पोखरेल, संस्थाका सल्लाहकार संयोजक गोपालप्रसाद लामिछाने, आइएमआइ लाइफ इन्स्युरेन्स सुरुंगा शाखाका प्रमुख केशव पाडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिनेशकुमार पोखरेलले गरेका थिए भने कोषाध्यक्ष कृष्णकुमारी खनालले स्वागत गरेकी थिइन् ।
साधारणसभाको अवसर पारेर वनभोज कार्यक्रमको पनि आयोजना गरिएको थियो । वनभोजको संयोजक कार्यसमिति सदस्य महेन्द्र रिजाल थिए । कार्यक्रममा विभिन्न रमाइलो प्रतियोगिताहरु गरिएको थियो ।




