
बिर्तामोड, मंसिर २९ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति बनाएको छ ।
सरकारको आह्वानमा महाअभियानले प्रेमदिप लिम्बुको संयोजकत्वमा वार्ता समिति बनाएको हो । समितिमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर सदस्य छन् ।
आइतबार महाअभियानका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूको सम्बन्धमा सरकारले सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको थियो ।
प्रधानमन्त्री सुशीला कार्की र महाअभियानका पदाधिकारीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंसिर २२ गते छलफल भएको थियो ।
छलफलमा पुस २ गते अर्को बैठक बस्ने सहमति भएको थियो । महाअभियानका अध्यक्ष प्रसाईंले सोमबार एक विज्ञप्ति निकाल्दै वार्ता समिति गठन गरिएको बारे जानकारी गराएका छन् ।
आइतबार मात्रै सरकारले आगामी २ पुसमा हुने छलफलका लागि वार्ता टोलीको नाम टुंगो लगाएर पठाउन भन्दै महाअभियानलाई पत्राचार गरेको थियो ।
त्यसपछि वार्ता टोली टुंगो लगाइएको प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रसाईं समूहले यसअघि विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।




