बिर्तामोड, पुस ३ । जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर-४ बाहुनडाँगीमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार अन्दाजी ५५ वर्ष जति देखिने ती व्यक्ति भारतीय नागरिक हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक बाहुनडाँगी क्षेत्रमा मागी खाई हिँड्ने खुले पनि उनको पहिचान खुलिनसकेको र भारततर्फ पनि जानकारी गराइएको प्रहरीले जनाएको छ ।
गत शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ६० वर्षीय भवकृष्ण घिमिरेको हात्ती आक्रमणवाट मृत्यु भएको थियो ।
घिमिरेलाई दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।




