
बिर्तामोड, पुस ४ । चार दिनअघि झापाको बिर्तामोडबाट बैङ्किङ कसुर गरेको आरोपमा पक्राउ परेकी महिलाले अन्य धेरैजनाको रकम लिएर फिर्ता नगरेको खुलेको छ ।
झापा बिर्तामोड–२ चारपानेकी ४२ वर्षीया प्रिति थापालाई बैङ्किङ कसुर गरेको आरोपमा मंसिर २९ गते इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले एक होटलबाट पक्राउ गरेको थियो ।
थापाले अर्जुनधारा-५ का ५० वर्षीय योगराज गिरीबाट दुई वर्षअघि रकम लिएर फिर्ता नगरेको कागजात झापा टुडेलाई प्राप्त भएको छ । २०८० फागुन ८ गते कागज गरेर थापाले गिरीसँग ६ लाख रुपैयाँ लिएकी थिइन् ।
छ महिनाभित्र ब्याजसहित साँवा रकम बुझाउने कागज गरिएको भए पनि थापाले हालसम्म सो रकम नतिरेको गिरीले जानकारी दिए । स्थानीयबासीका अनुसार थापाले सो क्षेत्रका एक दर्जनभन्दा बढी मानिसको रकम चलाएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी चालु मुद्दाका प्रतिवादी थापालाई नियन्त्रणमा लिई बिर्तामोडमा राखिएको जनाइएको छ ।




