बिर्तामोड, पुस ४ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका दुईजना थुनुवा लागुऔषधसहित पुनः पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राहुल श्रेष्ठ र वीरबहादुर पौडेल रहेका छन् । पौडेल पुस २ गते र श्रेष्ठ कात्तिक ८ गते पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्सालले बताए । उनीहरु लागुऔषध मुद्दामा पक्राउ परेका उनीहरु भदौ २४ गते दमक प्रहरीको हिरासतबाट भागेका थिए ।
जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ३२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये हालसम्म ६ जना थुनुवा पक्राउ परेका छन् । लागुऔषध मुद्दाका सुशीलकुमार थापा, ज्योति राई तामाङ, विष्णुप्रसाद बगाले र आशिष तामाङ पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवाहरुको मिसिल नहुँदा दमक प्रहरीले पक्राउ गर्न सकेको छैन । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दा हिरासतबाट भागेका धेरै थुनुवाहरुको मिसिल जलेर नष्ट भएको थियो ।





