२०८२ पुष ६ आइतबार
Jhapa Today
Adv top

बिर्तामोडमा तमु ल्होसारमा चार दिन कार्यक्रम हुने


बिर्तामोड, पुस ६ । झापाको बिर्तामोडमा गुरुङ समुदायको प्रमुख चाड तमु ल्होसारको अवसरमा चार दिने कार्यक्रम हुने भएको छ । डोमालाल राजवंशी रंगशालामा नयाँ वर्षको विविध कार्यक्रम हुने आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

आयोजक तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमितिका अनुसार कार्यक्रम पुस १२ गतेदेखि १५ गतेसम्म हुनेछ । सप्रिला न्हो (सर्प वर्ग) को विदाइ तथा त ल्हो (घोडा वर्ग) को स्वागतको रुपमा विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गर्न लागिएको केन्द्रीय सदस्य तथा कोशी प्रदेश प्रमुख आनन्द गुरुङले बताए ।

कार्यक्रमअनुसार पुस १२ गते गुरुङ सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरुको सहभागिता, गुरुङ जातिका विशेष परिकारहरु, गुरुङ जातिको लोकप्रिय खेल छेलो हान्ने, डोरी तान्ने रहनेटन् ।

कार्यक्रममा करिब आठ हजारजनाको उपस्थिति रहने र कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यता रहनेछ ।

पुस १३ र १४ गते प्रत्येक इकाईमा इकाई समितिको आयोजनामा सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिनेछ । पुस १५ गते प्रत्येक क्षेत्रका आफ्नाआफ्ना गुम्बामा धार्मिक सांस्कृतिक कार्यक्रम, पूजाआजा, स्वस्तिशान्ति गरी कार्यक्रमको समापन गरिनेछ ।

पत्रकार सम्मेलनमा परिषद्का केन्द्रीय सल्लाहकार जलकुमार गुरुङ, जिल्ला उपाध्यक्ष तथा कार्यक्रम संयोजक भागिमान गुरुङ र सचिव भागिमान गुरुङले कार्यक्रमबारे जानकारी दिएका थिए ।

Adv footer