
बिर्तामोड, पुस ११ । भारतीय कार चढेर चोरी गर्न पुगेका एकजना फरार प्रतिवादलिाई दमक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदन भुजेल रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका भुजेलबारे अनुसन्धान सुरु गरिएको छ । भुजेल चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादी हुन् । उनले चार महिनाअघि पनि दमकको एक घरमा चोरी गरेका थिए ।
गत भदौ ६ गते दमक–७ बस्ने बेनिस कार्कीको घरको सुत्ने कोठाको दराजबाट ७ लाख ५० हजार रुपैयाँ चोरी गरी फरार भएका थिए । पक्राउ परेका भुजेलको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतीय नम्बरको डब्ल्युबी ७४ एयु ९०६५ नम्बरको कार लिएर दमक–३ शान्ति चोकस्थित सरिता पोखरेलको घरमा चोरी गर्न गएका भुजेल हिजो पक्राउ परेका हुन् ।
पोखरेलको घरमा दराज फुटाएर चोरी गरिरहेको अवस्थामा भुजेललाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट सुनको कान्छी तिलहरी एकथान, मोतीको माला एकथान र सुनको टप एकथान बरामद भएको छ ।




