बिर्तामोड पुस १४ । झापाको बिर्तामोडमा दिउँसै लाखौँको धनमाल चोरी भएको छ । हिजो बिर्तामोड–३ कञ्चनजंघा टोल बस्ने सिर्जना शिवाकोटीको घरमा कोही नभएको मौकामा चोरी भएको हो ।
घरको छतको ढोकाबाट पसेर कोठाभित्र काठको दराजमा राखेको सुनको गरगहना ८ तोला र सामसङ मोबाइल एक थान गरी २२ लाख रुपैयाँबराबरको धनमाल चोरी गरेको हो । चोरी गर्ने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, हिजो बिहान ७ः२० बजे दमकमा मोबाइल चोरी गरी भाग्दै गर्दा एकजना युवक पक्राउ परेका छन् ।
दमक–८ बालुवाटारस्थित शिवनारायण शाहको तरुल खेतीमा काम गर्ने मोरङ सुन्दरहरैँचा ११ बस्ने वर्ष ४६ का सञ्जु चौधरीको भिभो कम्पनीको मोबाइल र सोही ठाउँ बस्ने वर्ष ५० का दशरथ चौधरीको सामसङ कम्पनीको मोबाइल चोरी गरी भाग्दै गर्दा सप्तरी राजविराज ९ बस्ने वर्ष १८ का खुवेत खान पक्राउ परेका हुन् ।
चोरी गरी भाग्ने क्रममा सोही स्थानमा काम गर्ने कामदारहरूले उनलाई मोबाइलसहित फेला पारी प्रहरीलाई बुझाएका थिए ।



