२०८२ पुष १५ मंगलबार
Jhapa Today
Adv top

आज तमु ल्होसार पर्व मनाइँदै


बिर्तामोड पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् ।ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

यस अवसरमा झापाको बिर्तामोडमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभूषामा सजिएर सहभागी भएका थिए ।

पुस १२ गते गुरुङ सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरुको सहभागिता, गुरुङ जातिका विशेष परिकारहरु, गुरुङ जातिको लोकप्रिय खेल छेलो हान्ने, डोरी तान्ने कार्यक्रम भएको थियो ।

पुस १३ र १४ गते प्रत्येक इकाईमा इकाई समितिको आयोजनामा सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिएको थियो । आज पुस १५ गते प्रत्येक क्षेत्रका आफ्नाआफ्ना गुम्बामा धार्मिक सांस्कृतिक कार्यक्रम, पूजाआजा, स्वस्तिशान्ति गरी कार्यक्रमको समापन गरिनेछ ।

Adv footer