२०८२ पुष १५ मंगलबार
Jhapa Today
Adv top

शुल्क नबुझाउँदा युकेका कलेजबाट निकालिँदै नेपाली विद्यार्थी


बिर्तामोड पुस १५ । बेलायत (युके) आएका नेपाली विद्यार्थीले काम नपाउँदा धेरै सास्ती खेप्नु परेको छ । कानुनअनुसार पढाइ चल्दा साताको २० घण्टा काम गर्न पाए पनि यसको कमाइले विश्वविद्यालयको शुल्क तिर्न र अरु खर्च धान्न सम्भव छैन्, जसले गर्दा विद्यार्थी आर्थिक बोझ खेप्न बाध्य छन् ।

समयसीमाभित्र विश्वविद्यालय शुल्क तिर्न नसक्ने नेपाली विद्यार्थीको भिजा रद्द हुने क्रम बढेको छ । अध्ययन भिजा रद्द भएपछि सामान्यतः होम अफिसले ६० दिनको समय दिएर बेलायतबाट फर्कन भन्छ । तर, लाखौँ रुपैयाँ ऋण गरेर आएका नेपाली विद्यार्थी अस्थायी रुपमै अल्झिन भए पनि असाइलमको बाटो समेत रोज्न थालेको सोलिसिटरहरुको भनाइ छ ।

अहिले बेलायत आउने नेपाली विद्यार्थीको संख्या हजारौँ छ । बेलायतको गृह मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार सेप्टेम्बर २०२५ अन्त्यसम्म एक वर्षमा ४ लाख ३९ हजार ९२४ युके अध्ययन भिजा जारी हुँदा बेलायत आउने नेपाली विद्यार्थीको संख्या २० हजार ५ सय ७२ छ ।

बेलायत टेक्न मात्र पाए सबै ठिक भइहाल्छ भन्ने मानसिकता प्रायः नेपाली विद्यार्थीमा छ । तर, उनीहरु कतिपयले आफूलाई स्पोन्सर गर्ने युनिभर्सिटीको आवश्यक मापदण्ड पूरा गर्नुपर्छ भन्ने हेक्का राख्दैनन् । नियमित हाजिरी, समयमै अध्ययन शुल्क तिरेको, असाइनमेन्ट बुझाएको जस्ता न्यूनतम मापदण्ड पालना नगर्ने विद्यार्थीलाई गृह मन्त्रालयमार्फत निष्कासन गर्न सक्ने अधिकार विश्वविद्यालयसँग छ ।

युके अध्ययन भिजा विद्यार्थीको स्पोन्सर गर्ने शैक्षिक संस्थानहरुसँग प्रत्यक्ष जोडिएको हुन्छ । यदि स्पोन्सरले आफ्नो प्रायोजन फिर्ता लिने निर्णय गर्छ भने सम्बन्धित विद्यार्थी बेलायतमा नपढी बस्न मिल्दैन ।

यस्तो अवस्थामा विद्यार्थीले नयाँ ‘कन्फरमेसन अफ एसेप्टेन्स फर स्टडिज’ (कास) लेटर लिएर पुनः अर्को आवेदन दिनुपर्छ जुन सहज छैन् । त्यसकारण ६० दिनभित्र बेलायत छाड्नुपर्ने एउटा मात्र विकल्प रहन्छ ।

बेलायती मन्त्री सीमा मल्होत्राका अनुसार गत वर्ष विश्वभरका लगभग १६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो पाठ्यक्रम पूरा गरेपछि पनि फर्कनुको सट्टा बेलायतमा शरणका लागि आवेदन दिएका थिए, जुन कानुनी आप्रवासन मार्गको पूर्ण दुरुपयोग भएको सरकारको बुझाइ छ ।

गृह मन्त्रालयको पछिल्लो तथ्यांकमा यस वर्ष जुन २०२५ सम्म थप १४ हजार ८०० विद्यार्थीले युकेमा शरण खोज्दै निवेदन दिएका छन् ।

तर, बेलायत सरकारले दसौँ हजार विदेशी विद्यार्थीलाई सिधै सम्पर्क गरी यदि तिनीहरू आफ्नो भिजा अवधिभन्दा बढी समय बसे बेलायतबाट निकालिने चेतावनी दिन थालेको छ ।

गृह मन्त्रालयले विद्यार्थी भिसामा कानुनी रूपमा आइपुगेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले आफ्नो म्याद सकिएपछि शरण (असाइलम) दाबी गर्ने क्रम बढ्दा यो अभियान थालेको हो ।

यस अभियानकै हिस्साका रुपमा गृह मन्त्रालयले पहिलोपटक सक्रिय रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई टेक्स्ट र इमेलमार्फत सिधै सम्पर्क गर्न थालेको बताइएको छ ।

Adv footer