
बिर्तामोड पुस १५ । झापाको बिर्तामोडमा क्यान्सर प्रभावितलाई सहयोगका लागि साइक्लिङ सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । झापा साइक्लिङ क्लब र पूर्वाञ्चल क्यान्सर हस्पिटलको सहकार्यमा कार्यक्रम भएको हो ।
साइकल कल्चर कम्युनिटीले क्यान्सर सचेतना एवम् क्यान्सर प्रभावित उपचार कोष संकलन कार्यक्रमका लागि आज अन्तरक्रिया कार्यक्रम भएको हो ।
अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ तारिखदेखि पूर्वको पाँचथर चिवाभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म एक महिना लामो साइकल यात्राअन्तर्गत बिर्तामोडमा कार्यक्रम भएको हो ।
१८०० किलोमिटर मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियान सुरुआत गर्ने सिलसिलामा बिर्तामोडमा कार्यक्रम गरिएको हो । यात्रा भेट्रान साइक्लिस्ट तथा क्यान्सर प्रभावित हर्क लामा र कविता चित्राकारसहितको टोली रहनेछ ।
झापा साइक्लिङ क्लबका अध्यक्ष आकाश श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले क्लबको औचित्य र झापामा यस कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
त्यस अवसरमा क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकारमाथिको छोटो जीवनी (भिडियो) प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकारलाई सम्मान गर्नुका साथै क्यान्सर र साइक्लिङबीचको सामञ्जस्यताबीच प्रकाश पारेका थिए ।
क्यान्सर विजेता लामाले आफूलाई क्यान्सर पत्ता लागेको बेला, क्यान्सर उपचारका साथै क्यान्सर उपचारपछिको जीवनबारे आफ्नो अनुभव सुनाएका थिए ।
त्यस्तै, अर्का क्यान्सर विजेता चित्रकारले आफ्नो क्यान्सर अनुभव सुनाउनुको साथै अन्य क्यान्सर प्रभावितहरुको मनोबल उच्च बनाउन यस अभियानमा सहभागिता जनाउन लागेको बताइन् । कार्यक्रममा झापाका क्यान्सर विजेताहरुलाई पनि सम्मान गरिएको थियोे ।
कार्यक्रममा मध्य पहाडी लोकमार्ग साइक्लिङ अभियानबारे प्राडा तारालाल श्रेष्ठले थप प्रस्ट पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रादेवी महतारा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, धुलिखेल अस्पतालका चिकित्सक एवम साइक्लिङ अभियानका एक प्रमुख राइडर डा. विकास पराजुलीलगायतले क्यान्सर लागेपछिको भोगाइ तथा साइकल संस्कृतिबारे धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन झापा साइक्लिङ क्लबका सचिव हिमाल खरेलले गरेका थिए । कार्यक्रममा धुलिखेल अस्पतालका प्राडा सुमनराज ताम्राकार, साइकल कल्चर कम्युनिटीका ज्ञानेन्द्र स्थापित, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेल, पर्यटन मञ्च झापाका अध्यक्ष उदयकुमार श्रेष्ठ, बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं, झापा इनर्जीका प्रबन्धक सुवास भट्टराई, क्वालिटी कम्प्युटरका सञ्चालक दिपेश पाठक लगायतको उपस्थिति थियो ।



