
बिर्तामोड पुस १६ । झापाको बिर्तामोड नगरस्तरीय अन्तरविद्यालय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ ।
बिर्तामोड नगरपालिकाले आयोजना भएको प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि माविले १७ स्वर्ण, ८ रजत र ५ कास्य जितेर प्रथम भएको हो ।
त्यस्तै, वडा नम्बर १० मा रहेको महेन्द्रज्योति माध्यमिक विद्यालय दोस्रो भएको छ । महेन्द्रज्योतिले ७ स्वर्ण, ५ रजत र ४ कास्य प्राप्त गरेको छ ।
वडा नम्बर ३ को महेन्द्ररत्न माध्यमिक विद्यालय तेस्रो भएको छ । महेन्द्ररत्नले ६ स्वर्ण, ९ रजत र ७ कास्य प्राप्त गरेको छ ।
प्रथम हुने निदिले नगद १५ हजार, द्वितीय भएको महेन्द्रज्यासतिले १२ हजार र तृतीय भएको महेन्द्ररत्नले १० हजार रुपैयाँसहित प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।
नगरपालिकाले यस वर्षदेखि विजेताको लागि रनिङ शिल्डको समेत व्यवस्था गरेको छ । विजेता विद्यालय तथा विद्यार्थीहरुलाई नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिता पुस १३ गतेदेखि वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सुरु भएको थियो ।
बिर्तामोड नगरपालिकाभित्रका ३९ वटा विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले प्रतियोगितामा कराते, उसु, तेक्वान्दो, एथलेटिक्स, भलिवल र कबड्डी विधामा प्रतिस्पर्धा गरेका थिए ।



