२०८२ पुष २३ बुधबार
Jhapa Today
Adv top

जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट चोरिएको मोटरसाइकलसहित एक पक्राउ


बिर्तामोड पुस २१ । जेनजी आन्दोलनमा बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड १ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका ७ घर भएका ३९ वर्षीय वीरबहादुर दमाई रहेका छन् । उनले आफ्नो डेरामा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको परिसरबाट हराएको मोटरसाइकल लुकाएर राखेका थिए ।

हिजो बिहान इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले जाँच गर्दा दमाईले लुकाईछिपाई राखेको अवस्थामा मे. ७ प (नम्बर नखुलेको) सुपर स्प्लेन्डर मोटरसाइकल फेला परेको थियो । सो मोटरसाइकल सर्वसाधारणको भएको बताइएको छ । जुन पक्राउ गरी ट्राफिक प्रहरी कार्यालयमा राखिएको थियो ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । त्यस क्रममा ट्राफिक भवनमा आगजनी गर्नुका साथै सवारीसाधनमा समेत आगो लगाएका थिए ।

आगजनीबाट दुईवटा गाडी क्षतिग्रस्त भएका थिए । त्यस्तै, सेतो नम्बर प्लेट भएका कार्यालयको चारवटा, त्यहाँका कर्मचारीहरुको ८ वटा र सर्वसाधारणको मोटरसाइकलसमेत हराएको थियो ।

आगजनीबाट ध्वस्त भएको अवस्थामा तीनवटा सेतो प्लेटका मोटरसाइकल फेला परेका थिए भने चारवटा निजी मोटरसाइकलमध्ये केही डढेको भेटिएको थियो । बाँकी मोटरसाइकल आन्दोलनकारीहरुले लिएर गएका थिए ।

ट्राफिक कार्यालयबाट हराएकामध्ये योसहित तीनवटा मोटरसाइकल फेला परेको छ भने ६ वटा मोटरसाइकल अझै गायब नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Adv footer