२०८२ पुष २५ शुक्रबार
Jhapa Today
Adv top

बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव  हुने


बिर्तामोड पुस २४ । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी बजारमा माघे सङ्क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तर्राष्ट्रिय तरुल उत्सव आयोजना हुने भएको छ ।

सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर–४ का वडा अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

उनका अनुसार हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित बाहुनडाँगीमा चौथोपटक तरुल उत्सव सञ्चालन हुन लागेको हो । महोत्सवमा प्रदर्शन गरिने तरुलजन्य १८ प्रकारका रैथाने खानेकुरा आकर्षण रहने आयोजकले जनाएको छ ।

युएनडिपी, इसिमोड, डब्ल्युडब्ल्युएफ, प्रकृति संरक्षण कोषलगायत गैरसरकारी संस्थाको सहयोगमा कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकरभिट्टाको सहभागितामा उत्सव आयेजना हुने वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

परम्परागत रूपमा उपभोग हुँदै आएका रैथाने खाना स्वस्थवर्द्धक र पोषिलो हुने अध्ययनले देखाएका छन् । यसको महत्व दर्शाउन र पर्यटकीय चहलपहल बढाउन उत्सव प्रभावकारी हुने अपेक्षा गरिएको आयोजक समितिका सचिव निरज घिमिरेले बताए ।

महोत्सव ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा लोककलाकार डेजी बराइली र कमलिकान्त भेटवालको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ ।

Adv footer