२०८२ पुष २८ सोमबार
Jhapa Today
Adv top

महेन्द्ररत्न माविको वार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थी, शिक्षक र दातालाई सम्मान


बिर्तामोड, पुस २७ । झापा बिर्तामोडको महेन्द्ररत्न माध्यमिक विद्यालयले उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक र दातालाई सम्मान गर्दै ६८ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको कार्यक्रममा विभिन्न अक्षय कोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

डाक्टर लक्ष्मीप्रसाद मैनालीद्वारा आफ्ना अग्रजको स्मृतिमा स्थापित रामप्रसाद मैनाली (गाउँ बुढा), विश्वेश्वरा, खेम स्मृति पुरस्कारबाट कक्षा ८ मा ४ जिपिए ल्याउने पुज्यता सुवेदी, ३.९७ जिपिए ल्याउने आरुसी प्रसाईं र ३.९४ जिपिए ल्याउने प्रतिष्ठा पौडेललाई पुरस्कृत गरिएको छ ।

त्यस्तै, सुरेश पाठक स्मृति पुरस्कारबाट एसइइमा ४ जिपिए ल्याउने विद्या भट्टराई, कक्षा १२ मा ३.७४ जिपिए ल्याउने आयुस पौडेललाई पुरस्कृत गरिएको छ । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडीमा छात्रा भूमिका कालिकोटे र छात्र आयुस शिवाकोटीलाई पुरस्कृत गरिएको छ ।

उत्कृष्ट शिक्षकको रुपमा मावितर्फ तुलसीराम खरेल, निमावितर्फ पुष्पलाल आचार्य, आधारभूत तहतर्फ सन्तोष पोखरेल र उमाकुमारी राजवंशी तथा बाल शिक्षक गीता काफ्लेलाई पुरस्कृत गरिएको छ ।

त्यस्तै, दीर्घसेवी सम्मान शिक्षक शान्ता चुडाललाई प्रदान गरिएको छ । सोही अवसरमा बिदाई हुने तुलसा सिटौलालाई पनि सम्मान गरिएको थियो । महेन्द्ररत्न तारा सिजन ३ का विजेता सन्दीप गुरुङ, फर्स्ट रनरअप किस्मत रिजाल र सेकेन्ड रनरअप गौरव मालेलाई पुरस्कृत गरिएको छ । त्यस्तै, अक्षयकोष दाता, प्रवेशद्वार निर्माण, चिसो खानेपानी आउने फिल्टर जडान गर्नेलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे, बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख कुमार बस्नेत, नेपाल बक्सिङ संघका उपाध्यक्ष भोजराज सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्की, नगर उपप्रमुख नगेन्द्र संग्रौला, वडा अध्यक्ष मदन बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

प्रधानाध्यापक खड्गप्रसाद खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सहायक प्रधानाध्यापक केशव प्रसाईंले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षकहरु तुलसीराम खरेल र भोजराज दाहालले गरेका थिए ।

Adv footer