बिर्तामोड, पुस ३० । झापाको कनकाई-४ कोटिहोमस्थित कनकाई पुलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ३५ वर्षीय कमल पराजुली रहेका छन् ।
हिजो राति ८ः३० कनकाई पुलस्थित पूर्वपश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको सेतो कारले विपरीत दिशाबाट आउँदै गरेको बिएएबी ६१२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पराजुली घाइते भएका थिए । टाउकोमा चोट लागेर घाइते पराजुलीलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले जाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए ।
मृतकको शव सोही अस्पतालमा रहेको छ । ठक्कर दिएर फरार रहेको सवारी साधनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।


